काठमाडौं । चाडपर्वको समयमा सर्वसाधारणले अत्यावश्यक सेवामा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले सरकारले सम्बन्धित निकायलाई सेवा नियमित राख्न निर्देशन दिएको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमार्फत सरकारले यस्तो निर्णय सार्वजनिक गरेको होकार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायतका सेवा चाडपर्वमा पनि निर्बाध सञ्चालन गर्न आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको उनले बताए। साथै, नागरिकले सेवा लिँदा अनावश्यक झन्झट बेहोर्न नपर्ने व्यवस्था मिलाउने निर्णय केन्द्रीय अनुगमन समितिले गरेको पनि उनले जानकारी दिए।
यसैबीच, सरकारले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीसम्बन्धी प्रक्रिया सरल र पारदर्शी बनाउने तयारी अघि बढाएको छ। यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताए।प्रस्तावित कार्यविधिले लगानीसम्बन्धी सेवा समयमै उपलब्ध गराउने, प्रक्रिया सहज बनाउने र लगानीकर्ताले निर्णय गर्न सक्ने वातावरणलाई पूर्वानुमानयोग्य बनाउने अपेक्षा गरिएको छ।सरकारले अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने र लगानी प्रणालीमा सुधार ल्याउने दुवै विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।