काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रयोगमा नरहेका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा तथा चार्जर प्लगमा जोडिरहँदा ठूलो मात्रामा विद्युत् खेर जाने बताएका छन्।
उनका अनुसार टेलिभिजन, चार्जरलगायतका उपकरण प्रयोग नगरे पनि विद्युत् आपूर्तिसँग जोडिराख्दा कुल खपतको पाँचदेखि २० प्रतिशतसम्म बिजुली अनावश्यक रूपमा खर्च हुन सक्छ। यस्तो खपतलाई प्राविधिक भाषामा ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भनिन्छ।न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले नेपालमा करिब ६० देखि ६५ लाख विद्युत् उपभोक्ता रहेको उल्लेख गर्दै प्रत्येक घरमा हुने थोरै अनावश्यक खपतले पनि समग्र विद्युत् प्रणालीमा ठूलो असर पार्न सक्ने बताए। विद्युत्को सदुपयोग गर्न सके ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार घटाउनुका साथै आपूर्ति व्यवस्थापनलाई सहज बनाउन मद्दत पुग्ने उनको भनाइ छ।
विद्युत् आपूर्तिमा समस्या हुँदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामै पर्ने भएकाले नागरिकस्तरबाटै ऊर्जा बचतसम्बन्धी चेतना बढाउनुपर्नेमा उनले जोड दिए। प्रयोगमा नरहेका उपकरणको स्विच बन्द गर्ने र चार्जर प्लगबाट निकाल्ने जस्ता सामान्य बानीले पनि अनावश्यक खपत कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।मन्त्री श्रेष्ठले विद्युत् बचतको अभ्यास सर्वसाधारणमा मात्र सीमित नराखी सरकारी कार्यालयमा पनि प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए। कार्यालय समय सकिएपछि अनावश्यक बत्ती, हिटर, पङ्खा र एसी बन्द गर्ने विषयमा सङ्घ, प्रदेश तथा स्थानीय तहका प्रशासनिक निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए।
आगामी जाडोयाममा विद्युत्को माग बढ्न सक्ने र हालैका बाढीका कारण ऊर्जा क्षेत्रमा पुगेको क्षतिको पुनःस्थापना कार्यसमेत जारी रहेकाले विद्युत्को मितव्ययी प्रयोग आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए। ऊर्जा प्रणालीमा पर्ने दबाब कम गर्न सरकारसँगै नागरिकले पनि जिम्मेवारीपूर्वक विद्युत् उपयोग गर्नुपर्ने उनको आग्रह छ।