काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले संसद्मा सांसदहरूले उठाएका विषयप्रति सरकार पर्याप्त गम्भीर बन्न नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै हमालले सरकारले संसद् र लोकतान्त्रिक प्रक्रियालाई अपेक्षित रूपमा महत्व नदिएको आरोप लगाए। उनका अनुसार अघिल्लो अधिवेशन सकिएपछि सरकारले अध्यादेश ल्याएको तथा चालु अधिवेशनमा सभामुखबाट भएका निर्देशनसमेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको अवस्था देखिएको छ।प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्नेमा त्यसअनुसार भूमिका निर्वाह हुन नसकेको पनि हमालको दाबी थियो। उनले सरकारका घोषणा, प्रतिबद्धता, नीति तथा कार्यक्रम र बजेटको नियमित समीक्षा आवश्यक रहेको बताए।
लोकतान्त्रिक शासन प्रणालीमा विधि र प्रक्रियालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई आफ्ना कामकारबाहीप्रति गम्भीर बन्न आग्रह गरे।हमालले जनतालाई प्रदान गरिने सेवा तथा सुविधामा पनि सरकारले गरेका प्रतिबद्धताअनुसार प्रगति हुन नसकेको टिप्पणी गरे। सुशासन कायम गर्ने तथा नागरिकका दैनिक जीवनसँग जोडिएका समस्यालाई सम्बोधन गर्ने विषयमा सरकारको काम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको आरोप थियो।