काठमाडौं ।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका विभिन्न घटनाप्रति राज्य र समाजको ध्यान लामो समय टिक्न नसकेको भन्दै प्रश्न उठाएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एउटा घटनाको पीडा र न्यायको विषय सेलाउन नपाउँदै अर्को घटनाले प्राथमिकता पाउने प्रवृत्तिले पुराना पीडितको मुद्दा ओझेलमा पर्ने गरेको बताइन्।धितालले पछिल्ला विभिन्न घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराइन्। उनका अनुसार समाजमा नयाँ घटना वा ‘ट्रेन्ड’ सुरु भएसँगै अघिल्लो घटनासँग जोडिएका न्याय र पीडितका सवालहरू बिस्तारै चर्चाबाट हराउने अवस्था देखिएको छ।
उनले नागरिकका पीडालाई राज्यले ठूलो–सानो वा नयाँ–पुरानो भनेर फरक व्यवहार गर्न नहुनेमा जोड दिइन्। जनजी आन्दोलन, मधेसमा भएको साम्प्रदायिक तनाव, आत्मदाहको घटना, बलात्कारपछि हत्या तथा रसुवाको बाढीलगायतका घटनाबीच अन्य पीडितका समस्या पनि ओझेलमा परेको उनको भनाइ थियो।धितालले राज्यको भूमिका पीडितलाई केही समय सहानुभूति दिनेमा मात्र सीमित हुन नहुने बताइन्। पीडितको अवस्था सामान्य नहुँदासम्म निरन्तर सहयोग, न्याय र पुनःस्थापनाका लागि राज्य सक्रिय रहनुपर्ने उनको माग थियो।उनले राज्यका संयन्त्रको उपस्थिति कागज वा औपचारिकतामा मात्र नभई पीडितको दैनिक जीवनमा देखिने गरी प्रभावकारी हुनुपर्ने बताउँदै सरकारलाई परिणाममुखी ढङ्गले काम गर्न आग्रह गरिन्।