काठमाडौँ । विदेश गएर कमाउने सोच बनाएका चार छोरालाई नेपालमै कृषि पेसामा लगाएका बराहक्षेत्र–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीको परिवार अहिले व्यावसायिक तरकारीखेतीमा रमाइरहेको छ।
करिब दुई दशकदेखि कृषि गर्दै आएका अर्जुनले खेतीलाई नै परिवारको मुख्य आम्दानीको आधार बनाएका छन्। अर्जुनले आफ्ना चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाललाई समेत कृषि पेसामै आबद्ध गराएका छन्। गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन गर्दै आएको चन्द्रवंशी परिवारले अहिले करिब पाँच बिघा जमिनमा गोलभेँडाखेती गरिरहेको छ।
छोराहरू विदेश जाने तयारीमा रहेका बेला आफूले नेपालमै मेहनत गर्न प्रेरित गरेको अर्जुन बताउँछन्। उनका अनुसार सुरुका दिनमा यातायातको सुविधा नहुँदा खेतमा उत्पादन भएको तरकारी टाउकोमा बोकेर बजार पुर्याउनुपर्थ्यो। अहिले भने व्यापारीहरू नै गाडी लिएर खेतसम्म आउने गरेका छन्। गोलभेँडाको मुख्य सिजन कात्तिक–मङ्सिरदेखि फागुन–चैतसम्म हुने गरेको छ। उक्त समयमा ५० जनाभन्दा बढी मजदुरले फार्ममा काम गर्ने गरेका छन्। अफसिजनमा समेत करिब २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेका छन्।
गत वर्ष गोलभेँडाको मूल्य राम्रो हुनुका साथै मौसमले पनि साथ दिँदा परिवारले करिब एक करोड रुपैयाँ बराबरको कारोबार गरेको अर्जुनले बताए। उनका अनुसार बजार मूल्य अनुकूल नभए पनि सबै खर्च कटाएर वार्षिक करिब ६० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग र उत्पादनअनुसार घटबढ हुन्छ। सामान्य अवस्थामा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म बिक्री हुने गोलभेँडा कहिलेकाहीँ ८० देखि ९५ रुपैयाँसम्म पुग्छ। तर बजार कमजोर हुँदा प्रतिकिलो पाँच रुपैयाँमै बिक्री गर्नुपर्ने अवस्था पनि आउने गरेको उनले बताए।
माइला छोरा लक्ष्मण भने चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि पुनः कृषि पेसामै जोडिएका हुन्। उनका अनुसार विदेशको तुलनामा नेपालमै कृषि गरेर राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेपछि उनी खेतीमा फर्किएका हुन्। लक्ष्मणका अनुसार परिवारसँग रहेको करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारी लगाइएको छ। बाँकी क्षेत्रमा मकै र धान खेती हुँदै आएको छ। व्यावसायिक खेतीका लागि औपचारिक तालिम नलिए पनि सामाजिक सञ्जालबाट जानकारी लिएर आधुनिक तरिकाले खेती गरिरहेको उनले बताए।
उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको चन्द्रवंशी परिवारको भनाइ छ। धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज र झापालगायतका ठाउँबाट व्यापारीहरू गोलभेँडा खरिद गर्न खेतमै पुग्ने गरेका छन्। चन्द्रवंशी परिवारले आफूहरूका लागि मात्र नभई स्थानीय स्तरमा समेत रोजगारी सिर्जना गरेको छ। खेतीमा परिवारका सदस्यसँगै अन्य स्थानीयले पनि रोजगारी पाएका छन्।
श्रीलङ्का टप्पुमा व्यावसायिक गोलभेँडाखेतीको क्षेत्रसमेत विस्तार हुँदै गएको छ। बराहक्षेत्र नगरपालिका–६ र ९ मा मात्रै करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडाखेती हुने गरेको बताइएको छ। यहाँका किसानले गोलभेँडासँगै मौसमी तथा बेमौसमी अन्य तरकारी पनि उत्पादन गर्दै आएका छन्। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा हाल ८ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारीखेती भइरहेको छ। बराहक्षेत्र क्षेत्रमा गोलभेँडा, कोभी र बोडीलगायतका तरकारीको उत्पादन राम्रो हुने भएकाले स्थानीय किसान व्यावसायिक कृषितर्फ आकर्षित भएका छन्। श्रीलङ्का टप्पुका करिब ९० प्रतिशत स्थानीय कृषि तथा तरकारी उत्पादनमा निर्भर रहेको जनाइएको छ। स्थानीय तहले किसानलाई प्रोत्साहन गर्न मल, बीउलगायत कृषि सामग्रीमा अनुदान उपलब्ध गराउँदै आएको छ।