काठमाडौं ।सुनसरीमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ।
दुहबी नगरपालिका–११ सिमरवनास्थित पुलबाट मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दार गम्भीर घाइते भएका थिए। उपचारका लागि विराट शिक्षण अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।थान्दार रेडियो नेपालअन्तर्गत विराटनगरमा रहेको तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा प्राविधिक अधिकृतका रूपमा कार्यरत थिए।धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।दुवै दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।