काठमाडौं । जलवायु परिवर्तनका कारण हिमनदी तीव्र रूपमा पग्लिँदै जाँदा हिमनदी ताल विस्तार हुने र त्यसबाट अचानक बाढी आउने जोखिम बढेको छ।
यही जोखिमलाई कम गर्न भुटानले हिमनदी ताल र नदीको पानीको सतहमा चौबीसै घण्टा निगरानी गर्दै पूर्वसूचना प्रणाली सञ्चालन गरिरहेको छ।भुटानको उत्तरी हिमाली क्षेत्रमा ६सय भन्दा बढी हिमनदी रहेका छन्। हिमनदी पग्लिएर तालको आकार बढ्दै जाँदा कमजोर प्राकृतिक बाँध फुट्ने सम्भावना रहन्छ। यस्तो अवस्था आए हिमनदी ताल विस्फोटजन्य बाढी जीएलओएफ ले तल्लो क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्छ। सन् १९९४ मा आएको यस्तै बाढीमा पुनात्सङछु नदी आसपास २१ जनाको मृत्यु भएको थियो।वाङ्गडु फोद्राङ क्षेत्रमा रहेको आपत्कालीन चेतावनी केन्द्रले सेन्सरमार्फत हिमनदी ताल तथा नदीको पानीको सतह निरन्तर मापन गर्छ। पानीको सतहमा असामान्य परिवर्तन देखिए स्वचालित रूपमा साइरन बज्ने र आवश्यकताअनुसार तल्लो क्षेत्रका चेतावनी साइरनसमेत सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
भुटानले सम्भावित जोखिम भएका १७ हिमनदी ताल पहिचान गरेको छ। तीमध्ये केही ताल कमजोर भग्नावशेषबाट बनेका प्राकृतिक बाँधले थामिएका छन्। बाँध भत्किए ठूलो परिमाणमा पानी तल्लो भूभागतर्फ बग्न सक्ने भएकाले जोखिम क्षेत्रका बस्तीलाई समयमै सचेत गराउने प्रणालीलाई प्राथमिकता दिइएको छ।जोखिम घटाउन भुटानले थोर्थोर्मी हिमनदी तालको पानीको सतह घटाउने प्रयाससमेत गर्दै आएको छ। यसका लागि निर्माण गरिएको नहरमार्फत तालको पानीको सतह केही मिटर घटाइए पनि हिमनदी निरन्तर पग्लिँदा तालमा पुनः पानी जम्मा हुने समस्या देखिएको छ।भुटानी विज्ञहरूका अनुसार जलवायु परिवर्तनको प्रभावका कारण देशका ठूला हिमनदी हरेक वर्ष करिब ३० देखि ३५ मिटर र साना हिमनदी १२ देखि १६ मिटरसम्म पछाडि हटिरहेका छन्। हिमनदीको यस्तो तीव्र परिवर्तनले आगामी दिनमा जीएलओएफको जोखिम अझ बढाउन सक्ने भन्दै भुटानले निरन्तर निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेको छ।भुटानले आफ्नो कार्बन उत्सर्जनभन्दा बढी कार्बन अवशोषण गर्दै आए पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको भन्दै विज्ञहरूले विश्व समुदायलाई जलवायु संकट न्यूनीकरणमा थप जिम्मेवार बन्न आग्रह गरेका छन्।