काठमाडौं । मंगलबार देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सुनसरी, रौतहट, सिन्धुली, पाल्पा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।सुनसरीको धरानमा कोशी राजमार्गअन्तर्गत गुराँसचोकमा रोकिराखेको मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा मोटरसाइकल चालक पचपन्न वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै, रौतहटको धनसर जंगलसैयामा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा चालक सञ्जय घिसिङको उपचारका क्रममा मृत्यु भएको छ।सिन्धुलीको हरिहरपुरगढीमा मदन भण्डारी राजमार्गमा मिनीट्रकको ठक्करबाट पैदलयात्री माइते राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।त्यसैगरी, पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि सडकबाट तल खोल्सामा खस्दा मोटरसाइकलमा पछाडि सवार सत्ताइस वर्षीय युवराज दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बाँकेमा भएको अर्को सवारी दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ। घटनाबारे थप विवरण तथा दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।