काठमाडौं ।आर्थिक दबाब बढिरहेका बेला इरान सरकारले धेरै पेट्रोल प्रयोग गर्ने उपभोक्तामाथि थप भार पर्ने गरी इन्धनको मूल्य बढाएको छ।
नयाँ मूल्य मङ्गलबारदेखि लागू भएको हो।सरकारले तोकेको मासिक १ सय १० लिटरको सीमाभन्दा बढी पेट्रोल खरिद गर्नेले अब प्रतिलिटर एक लाख रियाल तिर्नुपर्ने व्यवस्था गरेको छ। गत डिसेम्बरपछि यो इरानमा पेट्रोलको मूल्य बढाइएको दोस्रो पटक हो।सरकारका अनुसार मूल्य बढाएर उठ्ने अतिरिक्त रकम घरपरिवारलाई सहयोगस्वरूप उपलब्ध गराइनेछ। इरानमा पेट्रोल अझै विश्वका सस्तो इन्धनमध्ये रहे पनि कमजोर मुद्रा र घट्दो आम्दानीका कारण सर्वसाधारण महँगीको चपेटामा छन्।राज्यको तेल वितरण कम्पनीका प्रमुखका अनुसार नयाँ मूल्यवृद्धिको असर करिब १५ प्रतिशत उपभोक्तामा पर्नेछ।
त्यस्तै, अगस्टमा इरानको दैनिक पेट्रोल खपत करिब १४ करोड ५० लाख लिटर पुगेको थियो, जबकि घरेलु उत्पादन क्षमता करिब १२ करोड २० लाख लिटर मात्रै रहेको बताइएको छ।पुराना सवारीसाधनको ठूलो संख्या र कमजोर सार्वजनिक यातायातलाई पेट्रोल खपत उच्च हुनुको प्रमुख कारण मानिएको छ। तर, देशमा मुद्रास्फीति करिब ६७ प्रतिशत पुगेका बेला पेट्रोल महँगिँदा यातायातसँगै खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने चिन्ता छ।इरानमा यसअघि सन् २०१९ मा पेट्रोलको मूल्य बढाउँदा ठूलो जनप्रदर्शन भएको थियो। अहिलेको मूल्यवृद्धिपछि पनि तेहरानका नागरिकले ‘पेट्रोल महँगिएपछि दैनिक जीवन झनै कठिन हुने’ भन्दै चिन्ता व्यक्त गरेका छन्।