काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गर्नुका साथै अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा गएको टोलीले स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा सञ्चालित होल्डिङ सेन्टर पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो।
तरुण दलको टोलीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १०० बाढीप्रभावित परिवारका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेको छ। विपद्का कारण घरबारविहीन भई अस्थायी शिविरमा बसोबास गरिरहेका पीडितहरूलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको तरुण दलले जनाएको छ।
राहत वितरण कार्यक्रमका क्रममा अध्यक्ष मनिष कोइरालाले हालैको विनाशकारी विपद्मा परी आफ्ना आमा–बुवा (अभिभावक) गुमाएका २० जना बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गराउने घोषणा गरे। ती बालबालिकाहरूको अध्ययन तथा पालनपोषणको सम्पूर्ण जिम्मेवारी नेपाल तरुण दलले अभिभावकका रूपमा वहन गर्ने प्रतिबद्धता अध्यक्ष कोइरालाले व्यक्त गरेका छन् ।
सङ्कटको यस घडीमा पीडित नागरिकहरूको मलम बन्नु तरुण दलको सामाजिक दायित्व भएको उल्लेख गर्दै अन्य प्रभावित क्षेत्रहरूमा पनि तरुण टोलीमार्फत उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यहरू निरन्तर जारी राखिने जनाइएको छ।

-1788704996.jpeg)
-1788704996.jpeg)
