काठमाडौँ । ‘ग्रीन आर्मी नेपाल’ ले संस्था खारेज भएको भनी सम्प्रेषित समाचार र सामग्रीहरूप्रति सो संस्थाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्था खारेजीसम्बन्धी आएका समाचारहरू अपुष्ट, तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको छ।
संस्थाका संस्थापक प्रमुख सविन शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुनी अवस्था र सम्बन्धित निकायको अभिलेख परीक्षण नै नगरी प्रकाशित गरिएका यस्ता सामग्रीले संस्थासँग आबद्ध विद्यार्थी, युवा, प्राविधिक, अभिभावक र शुभेच्छुकहरूमा अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख छ। संस्थाको स्थापना र सञ्चालनका विषयमा सरकारी निकायमा रहेको प्रमाणित अभिलेखका आधारमा मात्र आधिकारिक जानकारी सार्वजनिक गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।
सामाजिक सञ्जालमा फैलिएका हल्ला वा सामान्य अनुमानका आधारमा निष्कर्ष नलिकाउन आग्रह गर्दै ग्रीन आर्मी नेपालले कुनै पनि संस्था खारेजीको निर्णय आधिकारिक निकायको निर्णय र अभिलेखबाट पुष्टि हुनुपर्ने जनाएको छ। वातावरणीय संरक्षण, विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत सहयोग, वृक्षरोपण र सामाजिक सेवाका क्षेत्रमा प्रचलित कानुन र संस्थागत प्रक्रियाअनुसार नै कार्य भइरहेको विज्ञप्तिमा दाबी गरिएको छ।
साथै, संस्थाले गलत सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरूलाई आवश्यक तथ्य परीक्षण गरी समाचार सच्याउन आग्रह गरेको छ। आम नागरिक, विद्यार्थी तथा अभिभावकहरूलाई पनि सामाजिक सञ्जालका अपुष्ट सामग्रीका आधारमा धारणा नबनाई संस्थाको आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अपिल गर्दै आफूहरू सत्य, पारदर्शिता र संस्थागत प्रक्रियाप्रति प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।
