काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १०३ रनमै अलआउट गरेको छ।
मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याउँदै नेपाल जितको खोजीमा मैदानमा उत्रिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो। मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रनको योगदान दिए। अकिल वाहीदले २४ रन बनाए। यस्तै विरानदीप सिंहले १४ तथा मुहम्मद स्याहदात राम्लीले १३ रन जोडे।
मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ७.३ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए। ललित राजवंशीले २ विकेट हात पारे भने हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो। दोस्रो खेलमा पनि मलेसियालाई हराउँदै नेपाल आफ्नो विजयी यात्रा कायम राख्ने लक्ष्यमा छ।