काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएका प्रभावितहरूलाई घर फर्काउने क्रममा यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।
दुर्घटनामा बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। बाँकी पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै, सुर्खेतकी रीता गन्धर्वको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई लिएर बर्दियातर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।