काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन अखिल (समाजवादी) ले आर्थिक सहयोग गरेको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो।संगठनका अनुसार उक्त रकम विद्यार्थी तथा संगठनका सदस्यहरूबाट आन्तरिक रूपमा संकलन गरिएको थियो। रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको राहतका लागि सहयोग पुग्ने उद्देश्यले रकम सरकारी कोषमा दाखिला गरिएको अखिल (समाजवादी) का उपाध्यक्ष ललित ‘सी’ ले बताएका छन्।आर्थिक सहयोगसँगै संगठनले प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा स्वयंसेवक परिचालन गर्ने तयारीसमेत गरेको छ। खोज, उद्धार तथा राहत वितरणमा आवश्यक सहयोग गर्न छिट्टै स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पठाइने संगठनले जनाएको छ।