काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् ।
बाढीका कारण सडक र सञ्चार सेवा अवरुद्ध हुँदा आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको उद्धारमा कठिनाइ भएको छ । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ । उनीहरूमध्ये नेपाली र विदेशी नागरिक करिब बराबरी रहेको बताइएको छ । यस्तै, आयोजना प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना तथा परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ । आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना तथा विद्युतगृह क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको बताइएको छ । आयोजनाबाट केही व्यक्तिको प्रारम्भिक उद्धार भएको सूचना आए पनि यसको औपचारिक पुष्टि भने हुन बाँकी छ ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना पनि सम्पर्कविहीन छन् । तिमुरेमा रहेका तीन जना सुरक्षित स्थानमा पुगेको बताइए पनि उनीहरूसँग समेत सञ्चार सम्पर्क हुन सकेको छैन । त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकोप्टरमार्फत स्थलगत निरीक्षण गर्ने तयारी भइरहेको छ । १२० मेगावाटको रसुवा भोटेकोशी आयोजनामा सिभिल ठेकेदार सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन छन् । अन्य पाँच जना नजिकैको गाउँमा आश्रय लिएर बसेका छन् । उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली रहेको बताइएको छ । उनीहरूको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । यसैगरी, २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सुरुङभित्र थुनिएका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । सम्पर्कविहीन हुनेमा २५ जना कर्मचारी र ३५ जना कामदार छन् । आयोजनाका प्रतिनिधिहरू घटनास्थल पुगेर उद्धारको प्रयास गरिरहेका भए पनि हेलिकोप्टरको व्यवस्था हुन नसक्दा उद्धारमा थप कठिनाइ भएको बताइएको छ ।बाढीका कारण सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा रसुवाका प्रभावित जलविद्युत आयोजनामा रहेका व्यक्तिको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।