काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई विद्यार्थीलाई विदेश पठाउने व्यवसायका रूपमा मात्रै बुझ्नु गलत हुने बताएका छन्।
आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले नेपालको शैक्षिक गतिशीलता र त्यसको विकासक्रमलाई बुझेमात्रै शैक्षिक परामर्श क्षेत्र तथा इक्यानको संस्थागत भूमिकाबारे स्पष्ट धारणा बनाउन सकिने बताए। उनले विगतमा इक्यानलाई विदेश अध्ययनका लागि विद्यार्थी पठाउने संस्थाका रूपमा मात्रै बुझ्ने गरिएको उल्लेख गर्दै यसको भूमिका त्यसभन्दा व्यापक रहेको बताए। उनका अनुसार नेपालको शैक्षिक गन्तव्य र विद्यार्थीको विदेश अध्ययनप्रतिको रुचिमा आएको परिवर्तनसँगै शैक्षिक परामर्श क्षेत्रको महत्व पनि विस्तार हुँदै गएको छ।
भट्टराईका अनुसार कुनै समय नेपाली विद्यार्थीका लागि भारत प्रमुख तथा सहज शैक्षिक गन्तव्यका रूपमा रहेको थियो। अहिले भने अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरियालगायत विभिन्न मुलुक नेपाली विद्यार्थीका प्रमुख शैक्षिक गन्तव्य बनेका छन्। उनले शैक्षिक गन्तव्यको विस्तारलाई विदेश अध्ययन गर्ने प्रवृत्तिमा आएको वृद्धि मात्रै भनेर बुझ्न नहुने बताए। यसले नेपाली समाजको बदलिँदो आकांक्षा, ज्ञान तथा सीप हासिल गर्ने चाहना, अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अभिलाषा र नयाँ व्यावसायिक अवसर खोज्ने प्रवृत्तिलाई समेत प्रतिनिधित्व गर्ने उनको भनाइ थियो। नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकास र इक्यानको स्थापना पनि यिनै संरचनात्मक परिवर्तनको परिणाम भएको भट्टराईले बताए। उनका अनुसार यो क्षेत्र विदेश अध्ययनका लागि परामर्श दिने व्यवसायमा सीमित नभई नेपाललाई विश्वव्यापी शैक्षिक प्रणालीसँग जोड्ने माध्यमका रूपमा विकसित भएको छ।
भट्टराईले अन्तर्राष्ट्रिय शिक्षा नेपालको सामाजिक तथा आर्थिक संरचनासँग जोडिँदै गएको बताए। उनका अनुसार विदेश अध्ययन, ज्ञान तथा सीप, पूँजी निर्माण, अन्तर्राष्ट्रिय अनुभव र विश्वव्यापी सम्पर्कबीचको सम्बन्धका कारण यो क्षेत्र महत्वपूर्ण इकोसिस्टमका रूपमा विकास भइरहेको छ। इक्यानले आयोजना गर्दै आएको ‘एडुक्लेभ’ ले शिक्षा तथा शैक्षिक गतिशीलताका विषयमा निरन्तर बहसको वातावरण निर्माण गरिरहेको उनले बताए। एडुक्लेभको उद्देश्य कुनै निश्चित निष्कर्षमा पुग्नु नभई समयसापेक्ष र अर्थपूर्ण प्रश्न उठाएर नीतिगत बहसलाई अगाडि बढाउनु रहेको उनको भनाइ थियो। भट्टराईले एडुक्लेभका विभिन्न श्रृंखलामा नलेज इकोनोमी, ‘स्टडी इन नेपाल’, जेनेरेसन जीका बदलिँदा आकांक्षा तथा राजनीतिक मनोविज्ञानलगायत विषयमा समयमै बहस गरिएको जानकारी दिए। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको वैदेशिक रोजगारीको इतिहास लामो रहेको उल्लेख गर्दै विदेशमा प्राप्त अवसरलाई सकारात्मक रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
उनले नेपाल र विदेशबीचको श्रम तथा ज्ञान आदानप्रदानको इतिहास पुरानो रहेको बताउँदै अरनिको चीन गएको प्रसंगसमेत उल्लेख गरे। उनका अनुसार विश्वका विभिन्न मुलुकले वैदेशिक रोजगारी तथा विदेशमा प्राप्त अवसरलाई सदुपयोग गर्दै आर्थिक तथा सामाजिक विकास गरेका छन्। नेपालले पनि वैदेशिक रोजगारीलाई केवल समस्याका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने झाले बताए। विदेशमा प्राप्त ज्ञान, सीप, अनुभव र आर्थिक स्रोतलाई देशको विकासमा उपयोग गर्न सक्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, प्राडा कुसुम शाक्यलगायतले शैक्षिक परामर्श क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे धारणा राखेका थिए।