काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन्।
नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।डा.अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन्। उनले एमडी अध्ययनमा स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका हुन्।आयुर्वेद चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा.अर्याल सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्। यसअघि उनले नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत सेवा गरेका थिए।डा.अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिलका पूर्व कार्यकारी सदस्य तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन्।उनको नियुक्तिसँगै आयुर्वेद चिकित्सा क्षेत्रको नियमन, चिकित्सक दर्ता तथा व्यावसायिक मापदण्डलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।