काठमाडौँ । म्याग्दीको अन्नपूर्ण आधार शिविर पुग्ने चर्चित ‘मौरिस हर्जोग’ पदमार्गमा स्मार्ट सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले पर्यटकलाई पदमार्गसम्बन्धी आवश्यक जानकारी सहजै उपलब्ध गराउने उद्देश्यले क्युआर कोडमा आधारित सूचना प्रणाली तयार गरेको हो। प्रहरीका अनुसार उक्त प्रणालीमार्फत बेनीदेखि अन्नपूर्ण आधार शिविरसम्मका होटल तथा रेष्टुरेन्ट, आश्रयस्थल, सवारी चालकका सम्पर्क नम्बर, एक गन्तव्यबाट अर्को गन्तव्यसम्म पुग्न लाग्ने अनुमानित समय, उचाइ तथा आपत्कालीन अवस्थामा सम्पर्क गर्नुपर्ने निकायका फोन नम्बर मोबाइलबाटै हेर्न सकिनेछ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले पदयात्रामा जानुअघि आवश्यक जानकारी लिन पर्यटकले विभिन्न ठाउँमा फोन गरिरहनुपर्ने अवस्था अन्त्य गर्न कार्यालयकै जनशक्ति र प्रविधिको प्रयोग गरेर प्रणाली विकास गरिएको बताए। उनका अनुसार प्रणालीलाई आवश्यकता अनुसार थप परिमार्जन र अद्यावधिक गर्दै लगिनेछ। प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार अन्नपूर्ण आधार शिविर जाने पदमार्गबारे जानकारी लिन दैनिकजसो फोनमार्फत जिज्ञासा आउने गरेकाले पर्यटकलाई आफैँले आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था गरिएको हो।
यसका लागि बसपार्क, होटल, प्रहरी चौकी तथा अन्य सार्वजनिक स्थानमा क्युआर कोड राखिनेछ। साथै सामाजिक सञ्जालमार्फत पनि यसको प्रचार गरिने प्रहरीले जनाएको छ। समुद्री सतहदेखि ४ हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर छोटो दूरीमै पदयात्रा गरेर पुग्न सकिने भएकाले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। नारच्याङदेखि हुमखोलासम्म करिब २० किलोमिटर सडक तथा हुमखोलादेखि आधार शिविरसम्म करिब २२ किलोमिटरको पदमार्ग रहेको छ। यो मार्ग विसं २०७७ देखि सञ्चालनमा आएको हो।
पदयात्राका क्रममा अन्नपूर्ण र नीलगिरि हिमालको फेदी हुँदै मिस्त्रीखोलाको किनार, अग्ला झरना, हिमशृङ्खला, विविध भूगोल, वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्न सकिन्छ। सामान्यतया दुई दिनमा आधार शिविर पुगेर तेस्रो दिन फर्किन सकिने यो पदमार्गको प्रमुख आकर्षण अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल हो। समुद्री सतहदेखि करिब ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आएको पानी जम्मा भएर बनेको प्राकृतिक हिमताल हो। करिब एक लाख ७ हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त ताल आधार शिविरबाट समेत अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एउटै क्षेत्रबाट अवलोकन गर्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको यो प्रमुख पर्यटकीय विशेषता मानिन्छ।