काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेपछि सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सम्भावित विपद्को जोखिम न्यूनीकरणसँगै प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई प्रभावकारी बनाउन माग गरेका हुन्।बैठकको आकस्मिक समयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले पछिल्लो समय बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति भइरहेको उल्लेख गर्दै सरकारको तत्काल ध्यान जानुपर्ने बताए।उनले गत साउन २७ गते रोल्पामा गएको पहिरोमा १३ जनाको मृत्यु भएको तथा त्यसपछि सुनसरीको ग्राम क्षेत्रमा पनि चार जनाले ज्यान गुमाएको जानकारी गराए। साउन ३० गते भएको अर्को पहिरोमा एक जनाको मृत्यु भएको उल्लेख गर्दै पुनले विपद्का घटनाबाट प्रभावित परिवारलाई राज्यले तत्काल राहत उपलब्ध गराउनुपर्ने बताए।सांसद पुनले आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष भेटेर समेत विपद्का घटनाबारे ध्यानाकर्षण गराएको जानकारी दिए। उनले बाढी–पहिरोमा ज्यान गुमाएका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको उपचार निःशुल्क तथा प्रभावकारी रूपमा गर्न सरकारसँग आग्रह गरे।
त्यस्तै, नेकपाकी सांसद बलावती शर्माले बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरोका कारण आठ घरमा क्षति पुगेको र थप घरहरू जोखिममा रहेको विषय सदनमा उठाइन्।उनका अनुसार पहिरोबाट धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र टिका घर्तीका घरमा क्षति पुगेको छ।सांसद शर्माले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावितका लागि तत्काल अस्थायी बासस्थानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्। आगामी दिनमा बाढी–पहिरोबाट हुन सक्ने क्षति रोक्न पूर्वतयारी र उद्धार व्यवस्थालाई चुस्त बनाउन पनि उनले आग्रह गरिन्।बैठकमा सांसदहरूले मनसुनजन्य विपद्सँगै बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावको विषयसमेत उठाएका थिए। उनीहरूले उपभोक्ताले भोगिरहेको ग्यास अभाव तत्काल समाधान गरी नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरे।