काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई तथ्य, तर्क र अध्ययनका आधारमा आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गरेकी छन्।
मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसलाई प्राथमिकता दिँदै राजनीतिक विचार बनाउन युवाहरूलाई सुझाव दिएकी हुन्। उनले आफूभन्दा फरक धारणा राख्ने व्यक्तिको विचारलाई समेत सम्मान गर्नुपर्ने बताइन्। लोकतन्त्रको सार आफ्नो विचार मात्र स्थापित गर्नु नभई फरक मतलाई सुन्ने, त्यसको सम्मान गर्ने र तथ्य तथा तर्कका आधारमा निष्कर्षमा पुग्ने संस्कारमा रहेको उनको भनाइ छ। प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै अहिलेको पुस्तासँग सूचनाको पहुँच बढे पनि धेरै सूचना हुनु र सही ज्ञान हासिल गर्नु फरक विषय भएको भण्डारीले उल्लेख गरिन्।
‘सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन।’ राजनीति निर्वाचनका समयमा मत माग्ने वा मतदान गर्ने प्रक्रियामा मात्र सीमित नहुने भन्दै भण्डारीले समाजलाई बुझ्ने, नागरिकका आवाज सुन्ने र नीति निर्माणमा आफ्नो भूमिका खोज्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्ने बताइन्। मदन भण्डारीका विचारलाई वर्तमान समय र बदलिँदो सामाजिक–राजनीतिक परिवेशसँग जोडेर अध्ययन तथा आत्मसात गर्नुपर्नेमा पनि उनले जोड दिइन्। देशमा परिवर्तनको अपेक्षा बढिरहेको र युवापुस्तामा नयाँ सोच तथा ऊर्जा रहेको उल्लेख गर्दै भण्डारीले त्यसलाई समाजको सकारात्मक रूपान्तरणमा प्रयोग गर्नुपर्ने बताइन्। उनले युवाहरूलाई लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न आग्रह गरिन्।