भक्तपुर । नेपाल आयल निगमको समन्वयमा भक्तपुरको मध्यपुर थिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरबाट आइतबार उपभोक्तालाई ग्यास वितरण गरिएको छ। अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमका अनुसार ग्यास लिन आउने उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रबाट नेपाल ग्यास, एचपी, सूर्य, सगर, एभरेस्ट, सुगम, एचटीसी, त्रिवेणी, राजधानी र गीता कम्पनीका ग्यास सिलिन्डर वितरण गरिएको छ। नेपाल आयल निगमका सहजकर्ता रामचन्द्र पाण्डेका अनुसार ठिमीस्थित केन्द्रबाट करिब ३ हजार सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको छ। ग्यास वितरण हुने जानकारी पाएपछि उपभोक्ताहरू बिहानैदेखि केन्द्रमा पुगेका थिए। कतिपय उपभोक्ता बिहान ४ बजेदेखि नै लाइनमा बसेर ग्यासका लागि पालो कुरेका थिए। लामो समय लाइनमा बस्नुपरेको र अत्यावश्यक वस्तु सहज रूपमा पाउन नसकेको भन्दै उनीहरूले गुनासो गरेका छन्।
उपभोक्ताहरूले बजारमा ग्यासको सहज आपूर्ति हुन नसक्नुमा राज्यको व्यवस्थापन कमजोर रहेको बताएका छन्। अत्यावश्यक अवस्थामा समेत ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न उनीहरूले सरकारसँग माग गरेका छन्। नेपाल आयल निगमका अनुसार आइतबार टेकुस्थित निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट ग्यास वितरण गरिएको छ। निगमले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।