काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ः१५ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ। यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष पेस गर्नेछन् भने कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
यसैबिच, आजै विभिन्न सात वटा संसदीय समितिको बैठक पनि बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र समस्याबारे छलफल हुनेछ। सोही समयमा बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कारागार र हिरासतमा रहेका कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस गरी छलफल गरिनेछ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिमा बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह तथा वृद्धाश्रमको संस्थागत अवस्थाबारे छलफल हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुनेछ।
उता विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनका निर्णय कार्यान्वयन र आगामी कोप–३१ (ऋइए३१) मा नेपालको सहभागिता र तयारीबारे सरकारसँग जानकारी लिने कार्यसूची रहेको छ। यसैगरी, अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न उजुरीहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।