काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दै छ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरिनुका साथै मन्त्रालयगत मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यक्रम रहेको छ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन् भने युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने छन्।