काठमाडौं । पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ। संघीय राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन। पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ।
विभागको तथ्याङ्क अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो।
मोरङ्को उर्लाबारी–८ र सुन्दर हरैचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको हो। दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो। यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको सङ्क्रमण भएको थियो।
हालसम्म ११ जिल्लामा सङ्क्रमण देखिएको छ।
काठमाडौं उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा मात्र ९२ स्थानमा सङ्क्रमण देखिएको थियो। जसमध्ये काठमाडौँमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा सङ्क्रमण देखिएको थियो।
काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा सङ्क्रमण देखिएको विभागले जनाएको छ।विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ ।