काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ।
विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मङ्गलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागलगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो ।
श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।