काठमाडौं । अमेरिका–इरान युद्ध थप चर्किएपछि भारत सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ ।
तेहरानस्थित भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई इरान यात्रा नगर्न तथा त्यहाँ रहेका नागरिकहरूलाई सकेसम्म चाँडो व्यावसायिक उडानमार्फत देश छोड्न आग्रह गरेको छ ।
आइतबार जारी संशोधित एड्भाइजारीमा दूतावासले इरानको बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सबै भारतीय नागरिकहरूलाई इरानतर्फको अनावश्यक यात्रा स्थगित गर्न कडा सल्लाह दिएको छ।
दूतावासले इरानमा रहेका भारतीय नागरिकहरूलाई उपलब्ध व्यावसायिक उडानहरूको प्रयोग गरी अस्थायी रूपमा देश छाड्ने विकल्प अपनाउन आग्रह गरेको छ ।
एड्भाइजारीमा भनिएको छ, “इरानमा रहेका भारतीय नागरिकहरूले उपलब्ध व्यावसायिक उडानहरूको प्रयोग गरी अस्थायी रूपमा देश बाहिर निस्कने विषयमा विचार गर्नुपर्छ । कुनै कारणवश इरानमै बस्ने निर्णय गर्नेहरूले अत्यधिक सावधानी अपनाउन, ताजा घटनाक्रमबारे निरन्तर जानकारी राख्न तथा सैन्य गतिविधि भइरहेका क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरिन्छ ।”
दूतावासले विशेष गरी इरानका दक्षिणी तटीय क्षेत्रहरूबाट टाढा रहन चेतावनी दिएको छ, जहाँ अमेरिकी हवाई आक्रमणहरू तीव्र बनेका छन् । त्यसैगरी, तेहरानस्थित भारतीय दूतावासमा अहिलेसम्म आफ्नो नाम दर्ता नगराएका भारतीय नागरिकहरूलाई तत्काल दर्ता गर्न भनिएको छ । दूतावासको वेबसाइट र सामाजिक सञ्जालमार्फत जारी हुने सूचना नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ ।