काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभर रहेका यातायात व्यवस्था कार्यालयहरूको सेवा सोमबार आशिंक रूपमा प्रभावित भएको छ। यातायात व्यवस्था विभागले सफ्टवेयर अपडेट गर्दा सर्भरमा समस्या आएका कारण देशभरका कार्यालयहरूमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा अन्य प्रशासनिक कामहरू रोकिएका हुन्।
भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयसहित देशका प्रमुख सहरहरूमा रहेका कार्यालयहरूमा सोमबार बिहानैदेखि सर्भर चल्न सकेको छैन। यातायात व्यवस्था कार्यालय कैलाली, नेपालगञ्ज, एकान्तकुना, कलङ्की, र भरतपुर (चितवन) लगायतका कार्यालयहरूले औपचारिक सूचना जारी गर्दै सर्भरमा समस्या आएकोले केही समयका लागि लाइसेन्स सम्बन्धी काम स्थगित गरिएको जानकारी दिएका छन्।
तर, केही कार्यालयहरूले भने विभागबाट आधिकारिक परिपत्र वा सूचना नआएका कारण आफूहरूले सार्वजनिक सूचना निकाल्न नसकेको र सेवाग्राहीलाई बुझाउन गाह्रो भएको बताएका छन्।
साउन १ गतेदेखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि नयाँ व्यवस्था अनुसार प्रणाली सञ्चालन गर्न विभागले सफ्टवेयर अपडेट गरिरहेका कारण यो समस्या निम्तिएको हो। विभागले यसबारे पूर्वसूचना जारी नगर्दा झरीको समयमा पनि कार्यालय पुगेका नागरिकहरू लामो लाइनमा बस्न बाध्य भए।
भक्तपुर कार्यालयमा आफ्नो लाइसेन्स लिन पुगेका सेवाग्राही चिराग पोखरेलले कार्यालयमा मानिसहरूको थेगिनसक्नु लाइन र सर्भर डाउन भएको जानकारी पाएपछि सेवा नै नलिई फर्कनुपरेको गुनासो पोखे ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईका अनुसार सफ्टवेयर अपडेटका कारण यस्तो भएको बताएका छन् । उनले नेपाली पब्लिक सँग भने “साउन १ गतेदेखि नयाँ व्यवस्था अनुसार जानुपर्ने भएकाले विभाग सफ्टवेयर अपडेटको काममा लागेको हो। यसले गर्दा केही कार्यालयहरूको सफ्टवेयरमा समस्या देखिएको भए पनि पूर्ण रूपमा प्रणाली बन्द भएको होइन। केही स्थानमा काम चलिरहेकाले आधिकारिक रूपमा सूचना ननिकालेका हौँ। देशभरबाट आइरहेका सुझाव र गुनासोका आधारमा दिनभरि नै समस्या रहेमा सूचना जारी गरिनेछ।”
यातायात व्यवस्था कार्यालय, राधेराधे, भक्तपुरका सूचना अधिकारी जीवन कुमार बस्नेतले आधिकारिक सूचना नआएका कारण आफूहरूले सर्भरको समस्याका बारेमा सूचना सार्वजनिक नगरेको नेपाली पब्लिक जानकारी दिएका छन् । उनले भने, “विभागले सफ्टवेयर अपडेट गरिरहेकाले सर्भरमा समस्या आएको हो, जसका कारण काम पूर्ण रूपमा प्रभावित भएको छ। विभागले यसबारे पहिले नै सार्वजनिक सूचना निकालिदिएको भए यातायात कार्यालयहरूले पनि आफ्ना सेवाग्राहीलाई सूचित गर्ने थिए र नागरिकले यसरी सास्ती खेप्नुपर्ने थिएन।“
सरकारी निकायहरूको फितलो समन्वय र पूर्वसूचना दिने परिपाटी नहुँदा प्रविधिको स्तरोन्नतिका नाममा आम नागरिकले सास्ती पाउने क्रम अझै रोकिन सकेको छैन।









