काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा राखेको धारणा प्रभावकारी रहेको बताएकी छन्।
नेपालको समस्या र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको भन्दै उनले प्रधानमन्त्री शाहसहित नेपाली प्रतिनिधिमण्डलप्रति धन्यवाद व्यक्त गरेकी छन्।धितालले प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा विश्व समुदायलाई जलवायु परिवर्तन र त्यसबाट उत्पन्न जोखिमबारे गम्भीर बन्न आग्रह गरेको विषयलाई विशेष रूपमा उल्लेख गरेकी छन्। ‘मानवताका लागि नजिकैको चेतावनी’ शीर्षकमा भएको सम्बोधनमार्फत शाहले विश्वसामु सतर्कताको प्रश्न उठाएको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै धितालले जलवायु संकट कुनै देशको सीमाभित्र मात्र सीमित नरहने प्रधानमन्त्रीको भनाइलाई उद्धृत गरेकी छन्। हिमनदी पग्लिने र बाढी आउने घटनाले भौगोलिक सीमाको ख्याल नगर्ने भएकाले यसको असर विश्वव्यापी रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।विपद्का समयमा नेपाललाई सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय संस्था र विश्वभरका सहयोगीहरूप्रति प्रधानमन्त्रीले व्यक्त गरेको आभारको पनि धितालले प्रशंसा गरेकी छन्।
उनले प्रधानमन्त्री शाहले उठाएको विश्वव्यापी असमानताको विषय पनि महत्वपूर्ण रहेको बताएकी छन्। धितालका अनुसार शाहले आफ्नो सम्बोधनमा युद्ध तथा सुरक्षा क्षेत्रमा स्रोत परिचालन गर्न सक्ने विश्व प्रणालीले खाद्यान्न, मल र इन्धनजस्ता आधारभूत आवश्यकताका विषयमा भने समान प्रभावकारिता देखाउन नसकेको प्रश्न उठाएका थिए।जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई केवल मानवीय संकटका रूपमा मात्र नभई विकाससँग जोडिएको गम्भीर चुनौतीका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु महत्वपूर्ण भएको धितालले उल्लेख गरेकी छन्।
तर, संयुक्त राष्ट्रसङ्घमा आवाज उठाउनु सुरुवात मात्र भएको उनको भनाइ छ। नेपालको मुद्दालाई थप प्रभावकारी बनाउन आगामी दिनमा निरन्तर छलफल, अन्तर्राष्ट्रिय समन्वय र पहल आवश्यक पर्ने धितालले बताएकी छन्।यस विषयलाई निरन्तर अघि बढाउन दृढ प्रयास आवश्यक रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूप्रति आभार व्यक्त गरेकी छन्।