काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही सञ्चार माध्यमले भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन् ।
केही दिनअघि विभिन्न अनलाइन तथा सञ्चार माध्यममा “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनले कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका हुन ।
सांसद गुरुङले काउन्सिलमा दर्ता गराएको उजुरीमा उक्त समाचार पूर्णतः तथ्यहीन, कपोलकल्पित र आफ्नो राजनीतिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने नियतले प्रेरित रहेको उल्लेख गरेका छन् । आफू आफ्नो परिवारसहित नितान्त निजी तथा पारिवारिक भ्रमणमा गएको घटनालाई बंग्याएर नियतवश ‘पित पत्रकारिता’ गरिएको उनको आरोप छ।
“म आफ्नो परिवारका सदस्यहरूसहित भ्रमणमा गएको कुरालाई बंग्याएर, समाजमा मेरो प्रतिष्ठा र चरित्रमा दाग लगाउने कुरा मलाई स्वीकार्य छैन। प्रमाणविना र सत्यता नबुझी लेखिएको यस्तो समाचार पत्रकारिताको न्यूनतम मर्यादा विपरीत छ,“ गुरुङले बताएका छन् ।
उक्त समाचार लेख्ने तथा प्रकाशित गर्ने संवाददाता दिनेश थापाविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कडा कारबाही र सजायको माग गर्दै उनले उजुरी दर्ता गराएका हुन । उजुरीमा सम्बन्धित मिडिया र संवाददातालाई कानुनी कठघरामा उभ्याई हदैसम्मको कारबाही गर्न र उक्त भ्रामक सामग्री तत्काल हटाउन माग गरिएको छ। प्रेस काउन्सिल नेपालले उजुरी दर्ता भइसकेको र यस विषयमा पत्रकार आचारसंहिता बमोजिम आवश्यक छानबिन प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।