जनकपुरधाम । मधेश प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच भएको सहमतिअनुसार सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
यसअघि गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि जेठ १ गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मत असफल भएको थियो ।
नेपाली कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने आशंकाका कारण सरकारले त्यसबेला विश्वासको मत लिनबाट पछि हटेको थियो । त्यतिबेला सरकारलाई जसपा नेपाल, नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो। तर बिहीबार राति एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेश सरकारको समीकरण फेरिएको हो।
नयाँ समीकरणअनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ । आज दिउँसो १ बजे प्रदेश सभा बैठक डाकिएको छ । हाल मधेश प्रदेशसभामा १०२ सदस्य कायम छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५, जसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका १, १ सांसद छन् ।