विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राख्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभा बैठकमा सरकारको उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । सरकारले चालू आर्थिक वर्षमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्ने र सार्वजनिक सेवा प्रवाहलाई अझ बढी प्रविधिमैत्री बनाउने घोषणा गरेको छ। यसका साथै, दक्ष र नवप्रवर्तनकारी युवा जनशक्तिलाई सरकारी सेवामा आकर्षित र प्रोत्साहित गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ जस्ता नवीन कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
पूर्वाधार तथा ठूला आयोजनातर्फ सरकारले रणनीतिक सडक विस्तारलाई तीव्रता दिँदै तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययनलाई प्राथमिकताका साथ अघि बढाउने लक्ष्य राखेको छ। साथै, आम नागरिकको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न ’एक घर एक धारा’ अभियानलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने भएको छ। पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवद्र्धनका लागि सरकारले आगामी २०८३ साउनदेखि २०८५ असारसम्मको अवधिलाई ’कोशी प्रदेश भ्रमण वर्ष’का रूपमा विशेष रूपमा मनाउने घोषणा गरेको छ, जसअन्तर्गत प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू पाथीभरा, हलेसी, कन्याम र श्रीअन्तुको अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिनेछ।
कृषि र सामाजिक क्षेत्रतर्फ कोशी प्रदेशका मुख्य व्यावसायिक उत्पादनहरू जस्तै चिया, अलैँची, अदुवा, दूध तथा तरकारीको उत्पादन वृद्धि गरी निर्यात प्रवर्धनमा जोड दिइएको छ। शिक्षा र स्वास्थ्य सुधारका लागि प्राविधिक शिक्षाको विस्तार र विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिने नीति सरकारले लिएको छ। स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन प्रदेश मातहतका अस्पतालहरूको स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिनेछ भने समाजमा बढ्दो चुनौतीका रूपमा रहेको मानसिक स्वास्थ्य र लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि विशेष सचेतना तथा उपचारका कार्यक्रमहरू सञ्चालन गरिने सरकारले जनाएको छ।