काठमाडौं । राप्रपाका नेता कमल थापाले राप्रपा र राप्रपा नेपालबीच एकीकरण प्रक्रिया अलपत्र परेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन्।
देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत ०८२ पुस १६ गते एकता भएपनि अझै समायोजन प्रक्रिया नटुङ्गिएको भन्दै फेसबुकबाटै ध्यानाकर्षण गराएका हुन्।
उनले भनेका छन्, ‘तर, एकीकरण भएको पाँच महिना बित्न लाग्दा समेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अझै अलपत्र छ। यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्र समेत पठाउन सकिएको छैन। यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ। बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्य अधुरै छ।’
मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् टड्कारो बन्दै गएको बताए।
दुई पार्टी एकता गर्दा तय गरिएको अवधारणा पत्र अनुसार अविलम्ब सबै तहमा समायोजन कार्य सम्पन्न गर्न माग गरेका छन्।