काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले आगामी बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा विनियोजन हुनुपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा पहुँचका आधारमा बजेट बाँड्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यसपटक त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले सत्तारुढ दलकै सांसद भए पनि सरकारलाई सचेत गराउने उद्देश्यले संसदमा धारणा राखिएको बताए। विकास योजनाहरू जनताको आवश्यकता अनुसार अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सांसद भण्डारीले काभ्रे क्षेत्रको एकीकृत खानेपानी आयोजना वर्षौंदेखि अन्योलमा रहेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। बनेपा, धुलिखेल र पनौतीका नागरिकले उपयोग गर्ने उक्त आयोजनालाई शीघ्र अघि बढाउनुपर्ने उनले बताए। त्यस्तै, आर्यन राई ले संसदमा गरिएको विरोध केवल विरोधका लागि नभई नीति, विधि र प्रणालीलाई व्यवस्थित बनाउनका लागि भएको प्रतिक्रिया दिए। उनले सत्ता पक्ष र प्रतिपक्ष दुवै जिम्मेवार भए मात्रै सकारात्मक परिणाम आउने धारणा राखे।