काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नरेन्द्र कुमार गुप्ता ले तराई–मधेस क्षेत्रमा यातायात सहज बनाउन कोस्टल हाइवे निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले झापाको केचना देखि कञ्चनपुरको दोधारा–चाँदनी सम्म जोड्ने प्रस्तावित कोस्टल हाइवे राष्ट्रिय महत्वको आयोजना भए पनि सरकारले बजेट विनियोजनमा प्राथमिकता नदिएको बताए। सांसद गुप्ताका अनुसार राणाकालदेखि नै उठाइँदै आएको यो मार्ग तराई–मधेसका नागरिकको सहज आवागमनका लागि अत्यन्त महत्वपूर्ण छ, तर अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन। उनले उक्त सडकलाई ‘तराई–मधेस राष्ट्रिय लेकमार्ग’ का रूपमा विकास गरी चार लेनको आधुनिक राजमार्ग बनाउनुपर्ने सुझाव दिए। साथै, प्रमुख व्यापारिक मार्गसँग जोडिएमा आर्थिक गतिविधि बढ्ने र देशको विकासमा टेवा पुग्ने उनले दाबी गरे।