काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहविरुद्ध प्लेकार्डसहित विरोध प्रदर्शन गरेको छ।
संसद् बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरूले आफ्नो छातीमा विभिन्न मागसहितका प्लेकार्ड टाँसेर मौन तर आक्रामक विरोध जनाएका हुन्। सरकार प्रमुखका रूपमा प्रधानमन्त्री बालेन शाह संसद् र जनताप्रति उत्तरदायी हुनुपर्ने र आफ्ना नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूबाट भाग्न नमिल्ने मुख्य माग सो पार्टीले अघि सारेको छ।
यसअघि संसद्मा पेस गरिएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग प्रमुख विपक्षी दलहरूले उठाउँदै आएका थिए।
तर, संसद् बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएपछि उनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रधानमन्त्रीको सोही अनुपस्थितिलाई लिएर विपक्षी बेन्चमा रहेका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले संसद्को नियमावली विपरीत छातीमै प्लेकार्ड प्रदर्शन गरेपछि केही समय संसद्मा गर्मागर्मी बढेको थियो।
संसदीय व्यवस्थामा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने स्थापित नियम भए पनि आगामी जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा उक्त कार्यक्रम समावेश नगरिएकोमा समेत श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ।
संसद्को मर्यादा विपरीत बैठक कक्षभित्रै प्लेकार्ड देखाएर विरोध गरिएपछि सभामुखले नियमावलीको ध्यानाकर्षण गराउँदै त्यसो नगर्न र तत्काल प्लेकार्ड हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री र विपक्षी दलहरूबीच बढ्दै गएको असमझदारी र संसदीय क्यालेन्डरको विवादले आगामी दिनमा सदन थप उथलपुथल हुने सङ्केत देखाएको छ।