काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई पार्टी विभाजन रोक्न कर्णाली प्रदेशका जिल्ला सभापतिहरुले सुझाव दिएका छन्।
गृह जिल्ला सुर्खेतमा शनिबारदेखि कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेका खड्कासँग भेट गर्दै जिल्ला सभापतिहरुले पार्टी एकता कायम राख्न आग्रह गरेका हुन्। भेलामा खड्काले पार्टी विभाजनको अवस्था नजिक पुगेको संकेत गरेका थिए, जसले कर्णालीका नेताहरूमा चिन्ता बढाएको बताइएको छ। जिल्ला तथा प्रदेश तहका नेताहरूसँगको भेटमा खड्काले पार्टीभित्र विवाद रहेको र त्यसको समाधानका लागि नेतृत्व गम्भीर नभएको धारणा राखेका थिए। उनका अनुसार नेतृत्वको अहमता र असहमतिको कारण पार्टी एकता जोगाउन कठिन अवस्था सिर्जना भएको छ।
भेटमा सहभागी एक जिल्ला सभापतिका अनुसार खड्काले पार्टीमा योगदान गरेका नेता–कार्यकर्ताको सम्मान नभएको गुनासो समेत गरेका थिए। यद्यपि अधिकांश नेताहरूले दुवै पक्षलाई लचकता अपनाउँदै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरेका छन्। जाजरकोटका सभापति बेदराज सिंहले पार्टीको आन्तरिक विवादले विगतका निर्वाचनमा क्षति पुर्याएको उल्लेख गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले नागरिक असन्तुष्टि समयमै सम्बोधन गर्न नसक्नु पनि कांग्रेसको कमजोरी भएको टिप्पणी गरे। खड्कासँग भेट गरेका धेरै नेताहरूले पार्टी एकतामा जोड दिँदै गुटबन्दी संस्थागत हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। खड्काले भने, पार्टीको वर्तमान अवस्थाबारे सबै तहका नेता–कार्यकर्ताको सुझाव संकलन गर्न विभिन्न प्रदेशमा भेला आयोजना गरिएको र प्राप्त सुझावका आधारमा आवश्यक निर्णय लिइने बताएका छन्।