काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ ले प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् ।
शुक्रबार सार्वजनिक विज्ञप्तिमार्फत राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्परालाई बेवास्ता गरेको आरोप लगाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री संसदमा नबस्नु र पुनः बैठकमा उपस्थित नहुनुलाई उनले लोकतान्त्रिक अभ्यासविपरीतको कदम बताएका छन् । उनका अनुसार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत प्रधानमन्त्री संसदमा अनुपस्थित रहे । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दा पनि उनी बैठकमा सहभागी नभएको र आफ्नै कार्यालयबाट संसदको गतिविधि हेरेको आरोप राईले लगाएका छन् । संसदीय अभ्यासअनुसार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने परम्परा रहेको उल्लेख गर्दै राईले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको टिप्पणी गरेका छन् ।
संसदमा जनतालाई प्रत्यक्ष सम्बोधन नगर्नु पनि गैरजिम्मेवार व्यवहार भएको उनको भनाइ छ । राईले संसदको गरिमा जोगाउन नसक्ने नेतृत्व असफल भएको दाबी गर्दै यस्ता गतिविधिले संसदीय अभ्यासमाथि नकारात्मक असर परेको बताएका छन् । जनताको सार्वभौम संस्थाको सम्मान गर्न नसक्ने व्यक्तिले पदमा बसिरहन नमिल्ने उनको जिकिर छ । विज्ञप्तिमा सरकारले संसदलाई कमजोर बनाउँदै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप समेत लगाइएको छ । साथै सीमा सुरक्षा, जनजीविका र नागरिकका आधारभूत समस्यामा सरकार प्रभावकारी हुन नसकेको भन्दै राईले असन्तुष्टि व्यक्त गरेका छन् ।