काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले सोमबार विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक बैठक गरेका छन्।
सिंहदरबारमा आयोजित उक्त छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी भएका थिए। बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या तथा तिनका सम्भावित समाधानबारे विचारविमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
केही समस्या तत्कालै समाधान गर्न सकिने भएकाले त्यसबारे पनि विशेष छलफल भएको बताइएको छ। छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए। त्यस्तै, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, नेपाल संस्कृत, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि बैठकमा उपस्थित रहेका थिए। यसका साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।