काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन संरचनामा हेरफेर गर्दै भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समितिको बैठकबाट शाहलाई महामन्त्रीमा नियुक्त गर्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गराउने तयारी भइरहेको छ।
यसअघि रास्वपाको महामन्त्रीको जिम्मेवारीमा सुनिल लम्साल रहेका थिए। लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि उक्त पद रिक्त भएको थियो। सोही पदमा शाहलाई जिम्मेवारी दिने तयारी भएको हो। यसअघि उनी सहमहामन्त्रीको भूमिकामा थिए। आजको केन्द्रीय समिति बैठकले उक्त प्रस्तावलाई पारित गर्ने स्रोतले जानकारी दिएको छ।
भूपदेव शाह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का अत्यन्त निकट पात्रका रूपमा चिनिन्छन्। बालेनले मेयर पदबाट राजीनामा दिएर रास्वपा प्रवेश गर्दा उनी पनि मेयरको सचिवालय टोलीसँगै पार्टीमा आएका थिए।
बालेनका प्रमुख स्वकीय सचिवका रूपमा काम गरिसकेका शाह रास्वपा र मेयर बालेन नेतृत्वको समूहबीच एकीकरणको प्रक्रियाका क्रममा पार्टीको केन्द्रीय सदस्य बनेका थिए। राजनीतिक रूपमा सक्रिय रहँदै आएका उनी हालै भएको प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत बनेका थिए। यद्यपि, उक्त निर्वाचनमा उनी पराजित हुन पुगेका थिए।