काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र फरक विचार राख्नेहरूलाई सम्मानका साथ अघि बढाउनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूको सम्मान कार्यक्रममा बोल्दै उनले फरक मतलाई स्वीकार गर्न नसक्दा तानाशाही सोच हाबी हुन सक्ने चेतावनी दिए। उनका अनुसार पार्टीभित्र विविध विचारलाई सम्मान गर्नु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो। उनले भने, पार्टीभित्र फरक धारणा राख्नेहरूलाई पनि समान रूपमा अवसर दिनुपर्छ। यदि यस्तो अभ्यास गर्न सकिएन भने भविष्यमा नेतृत्वमै तानाशाही प्रवृत्ति विकास हुन सक्ने खतरा रहन्छ। त्यसैले अहिलेबाटै फरक मतलाई सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको उनले जोड दिए।
त्यसैगरी, पछिल्लो समय विभिन्न भ्रष्टाचारका मुद्दा सार्वजनिक भइरहेका भए पनि राप्रपाका नेताहरूमाथि भने अहिलेसम्म कुनै प्रश्न नउठेको उनले दाबी गरे। उनले राप्रपा इमान्दारिताका साथ अघि बढिरहेको भन्दै त्यसमा शंका नगर्न आग्रह गरे। सांसद शाहीले जनताको असन्तुष्टि पार्टीसँगभन्दा पनि उम्मेदवारसँग बढी हुने गरेको उल्लेख गरे।
उनले एमालेका युवाहरूले निर्वाचन जितेको उदाहरण दिँदै पार्टीभन्दा व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले राप्रपाले अहिले सबैभन्दा स्पष्ट राजनीतिक एजेन्डा बोकेको दाबी गर्दै पार्टीभित्र कमजोरी भए आत्मसमिक्षा गरेर सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।यसका साथै, सरकारले जनताको हितमा गरेका सकारात्मक काममा साथ दिने र जनविरोधी कदम चालिए त्यसको कडा रूपमा विरोध गर्ने नीति पार्टीले लिएको पनि उनले जानकारी दिए।