काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर बनाउने वा समाप्त पार्न खोज्नेहरूका विरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । सोमबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा अध्यक्ष लिङ्देनले पार्टीभित्रै रहेर पार्टीलाई नै कमजोर बनाउने वा खरानी पार्ने खेलमा लागेका नेताहरूलाई अब कुनै पनि हालतमा छुट नदिने प्रष्ट पारे । उनले भने, ’जसले आफ्नो जिल्लामा वडा समिति बनाउन सक्दैनन्, निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्छन् र पार्टीलाई राष्ट्रिय शक्ति बन्नबाट रोक्न खोज्छन्, त्यस्ता व्यक्तिहरूको कुरा अब सुनुवाइ हुँदैन।’
अध्यक्ष लिङ्देनले पार्टीभित्र देखिएको वर्तमान समस्याको एक मात्र समाधान ’महाधिवेशन’ नै भएको बताए । आफू महाधिवेशन सार्ने वा कार्यकाल लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्दै उनले वैधानिक र व्यवस्थित तवरले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न नेतृत्व तयार रहेको जानकारी दिएका थिए ।
संसदमा प्रतिपक्ष कमजोर देखिएको अवस्थामा राप्रपाले सरकारका गलत कदमको सडक र सदन दुवैबाट सशक्त प्रतिवाद गर्ने अध्यक्ष लिङ्देनले बताए । उनले रास्वपा नेतृत्वको सरकारप्रति संकेत गर्दै भने, ’चुनावमा भोट माग्दा गरिएको प्रचारजस्तो नभई व्यवहारमा नतिजा देखिने गरी सरकारले काम गर्न सक्नुपर्छ।’
अध्यक्ष लिङ्देनले पछिल्लो समय गृहमन्त्रीका बारेमा बाहिर आएका चर्चा र विवादका विषयमा सरकारले अविलम्ब आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरे । उनले रास्वपा सभापति र गृहमन्त्री स्वयंलाई पनि यस विषयमा आफ्नो पोजिसन (स्पष्ट अडान) सार्वजनिक गर्न आग्रह गरेका थिए