काठमाडौं । प्रतिनिधिसभा सदस्य महाबीर पुनले सीमा क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा भन्सार शुल्क लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि भन्सार शुल्क तिर्नुपर्ने गरी ल्याएको नयाँ नियम अव्यावहारिक र अन्यायपूर्ण रहेको उनको भनाइ छ।
सीमा क्षेत्रका बासिन्दाहरूबाट आएका सयौं गुनासा र अनुरोधका आधारमा आफूले यस विषयमा विरोध जनाएको पुनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्। उनले भनेका छन्, “सीमा क्षेत्रमा सदियौँदेखि चलिआएको व्यक्तिगत प्रयोगका लागि ल्याइने थोरै सामानमा भन्सार तिर्नु नपर्ने चलन रातारात हट्नु हुँदैन।”
पुनले सरकारको यो नीतिले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष मर्का पर्ने र दैनिक जीवनमा असहजता निम्त्याउने भन्दै सरकारको आलोचना गरेका हुन्।
पुनले मन्त्रिपरिषद्मार्फत तुरुन्त यो निर्णय फिर्ता लिन माग गरेका छन्। सम्बन्धित निकायलाई निर्देशन दिएर सीमा क्षेत्रका बासिन्दाका लागि पहिलेदेखि कायम रहेको सहजीकरणलाई यथावत राख्न उनले आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा उनको यो धारणा सार्वजनिक भएसँगै सीमा क्षेत्रका बासिन्दाहरूले यसको व्यापक समर्थन गरिरहेका छन्।
यस्तोे छ उनको आपत्ति