काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज राखेको बैठकमा नयाँ पार्टी गठन गर्नुपर्ने आवाज उठेको छ ।
सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका निवर्तमान सभापति देउवा समूहले आइतबार बसेको एक बैठकमा केही जेताहरूले नयाँ पार्टी गठन गरेर अघि बढ्नु उपयुुक्त रहेको आवाज उठाएका हुन् ।
बैठकमा नेताहरू शिवप्रसाद हुमागाईं, कुन्दनराज काफ्ले, वीरबहादुर बलायर र गुरू बरालसहितका नेताहरूले अब नयाँ पार्टीको तयारीबारे पनि सोच्चुपर्ने बताएको एक नेताले बताए ।
‘अलग्गै पार्टी बनाएर जानुपर्ने विषयमा केही नेताहरूले धारणा राख्नु भएको छ’, ती नेताले भने, ‘यदि सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई सम्मानजनक हैसियत दिने अवस्था नरहे त्यहाँ बसिरहनु उचित नहुने उहाँहरूको ठहर थियो ।
देउवा समूहले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दुई पटक वक्तव्यसमेत निकालेको अवस्थामा सर्वोच्चले शुक्रबार गगनको नेतृत्वलाई नै आधिकारिकताको अन्तिम टुंगो दिएको हो ।
गगनले मान्यता पाएसँगै हाल हङकङमा रहेर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा सक्रिय गराएका देउवाको राजनीतिक करिअरको पनि अब करिब पूर्णविराम लागेको छ।