काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक संरचनालाई थप मजबुत र व्यवस्थित बनाउने उद्देश्यका साथ जिल्ला अधिवेशनको मिति तय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आगामी वैशाख १५ गतेदेखि देशभरका जिल्लाहरूमा अधिवेशन सुरु गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकपछि पार्टीका प्रवक्ता मनिष झाले जिल्ला अधिवेशनको कार्यतालिकाबारे जानकारी दिँदै पार्टीको संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखेर यो निर्णय गरिएको स्पष्ट पारेका छन्।
सचिवालय बैठकले गरेको यस निर्णयलाई अनुमोदन गर्न रास्वपाले भोलि (सोमबार) केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकमा सचिवालयले तयार पारेका विभिन्न एजेन्डाहरूमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ।
पछिल्लो समय रास्वपाले वडा र पालिका तहमा समेत संगठन निर्माणको कार्यलाई तीव्रता दिँदै आएको छ। निर्वाचनका कारण केही समय रोकिएको वडा र पालिका अधिवेशनहरू पुनः सुरु भएसँगै अब जिल्ला तहको अधिवेशनलाई पनि अघि बढाउने तयारीमा पार्टी जुटेको छ।
संगठन विस्तारको अभियानअन्तर्गत आगामी दिनहरूमा प्रदेश र केन्द्रीय तहका अधिवेशनहरू समेत गर्ने रास्वपाको योजना रहेको बुझिएको छ।