काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठक सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सदस्यलाई आग्रह गरिएको छ।
यसअघि आजै दिउँसो ३ः३० बजे सचिवालय बैठक बस्ने भएको छ। सो बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने बताइएको छ। बैठकमा संगठनात्मक जिम्मेवारी, संसदीय दलका गतिविधि, प्राविधिक सहयोग तथा लेवी व्यवस्थापनलगायत विषयमा छलफल हुने जनाइएको छ। त्यसैगरी जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग गठन, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागीय मनोनयन तथा महाधिवेशन तयारीसम्बन्धी विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।