काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलामा महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले न्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्रीद्वय घिमिरे र पौडेलले कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि गरेको संघर्षको प्रतिफल भएको उल्लेख गरेका छन् ।
महामन्त्री घिमिरेले सर्वोच्चको निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको बताएका छन् । यो कसैको हार वा जीतको विषय नभई उल्लेख गर्दै उनले कांग्रेसका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भई पार्टीको १५औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुन आग्रह गरेका छन् । विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्ने बेला आएको घिमिरेको प्रतिक्रिया छ ।
यस्तै महामन्त्री पौडेलले पार्टीको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला कसैका लागि पनि हार वा जीतको विषय हुन नहुनेमा जोड दिए । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन सबै सचेत र सजग हुनु नै अहिलेको अवस्थामा अनिवार्य आवश्यकता रहेको महामन्त्री पौडेलको भनाइ छ । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ ।