काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र सहमति र सहकार्यलाई अहिलेको मुख्य आवश्यकता बताएका छन् । आन्तरिक एकता कमजोर हुँदा राजनीतिक लक्ष्य हासिल गर्न कठिन हुने संकेत गर्दै उनले सबै नेता–कार्यकर्तालाई साझा लक्ष्यमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले नियमित अधिवेशनलाई एकताको आधार बनाउनुपर्नेमा जोड दिए। 'नेपाली कांग्रेसको नियमित अधिवेशनमा एकजुट भएर लाग्दा—यसैमा साझा सफलता निहीत छ,' उनले लेखेका छन्।
उनका अनुसार बदलिँदो राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार पार्टीले विगतको शैलीभन्दा फरक सोच र दृष्टिकोण अपनाउनुपर्ने समय आएको छ। 'विगतभन्दा फरक सोच समयको माग हो। सहमति सहकार्य अहिलेको आवश्यकता हो,' उनले स्पष्ट पारे।
भण्डारीले साहसिक निर्णय र दृढतामै भविष्य निर्माण हुने उल्लेख गर्दै नेताहरूलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। 'आट चाहिन्छ, किनकि आटले नै इतिहास बनाउँछ' उनले भने।