काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आकांक्षीहरूबीच सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत अघि बढ्ने तयारी गरिएको छ। दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समिति र सांसदहरूबीच शुक्रबार सिंहदरबारमा भएको छलफलमा यस्तो जानकारी दिइएको हो।
छलफलपछि निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले सकेसम्म सहमतिमै दलको नेता चयन गर्न आकांक्षी र पार्टी नेतृत्वसँग छलफल गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो प्राथमिकता सहमति नै हो, तर सहमति हुन नसकेको खण्डमा विधिसम्मत प्रक्रिया अघि बढाउँछौँ।“
संसदीय दलको नेताका लागि प्रभावशाली नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले मुख्य दाबी प्रस्तुत गर्नुभएको छ। यसका साथै अन्य केही सांसदहरूले पनि नेतृत्वका लागि आफ्नो इच्छा देखाएका छन्। दलको नेता चयनका लागि सदस्यहरूले पार्टीको आन्तरिक एकतालाई मध्यनजर गर्दै सहमतिमै जोड दिनुपर्ने धारणा राखेका छन्।
छलफलका क्रममा संयोजक स्नेहीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र बृहत् एकता कायम गर्न दलको विधान संशोधन गरिने विषयमा समेत सांसदहरूलाई जानकारी गराए ।
सांसद अर्जुननरसिंह केसीले पनि छलफलपछि प्रतिक्रिया दिँदै सहमतिमा नेता चयन गर्दा पार्टीको सन्देश सकारात्मक जाने बताउनुभयो। दलको नेता चयन र विधान संशोधनको प्रक्रियालाई सँगसँगै अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ।