काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन्। शपथ ग्रहण गर्नेहरूमा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सुम्निमा उदास, उद्योग तथा वाणिज्य समितिका रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिकी समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिका हरि ढकाल, र सार्वजनिक लेखा समितिका भरतबहादुर खड्का रहेका छन्।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त अनुगमन समितिमा गणेश कार्कीले पदबहाली गरेका छन्।
शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुनमन्त्री सोबिता गौतम र राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीको उपस्थिति रहेको थियो। निर्वाचित १२ सभापतिमध्ये ११ जना सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् भने सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतबहादुर खड्काले सम्हालेका छन्। शिक्षा र राज्यका निर्देशक सिद्धान्त समितिमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा सभापति चयन गरिएको थियो। शपथ ग्रहणलगत्तै नवनिर्वाचित सभापतिहरूले शुक्रबार नै आ–आफ्नो समितिको कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन्।