काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको महत्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले सभापति पदका लागि ढकालको मात्रै उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। उनलाई बिहीबार सांसद पुरुषोतम शुप्रभात यादवले प्रस्ताव र सांसद श्रद्धा कुँवरले समर्थन गर्दै मनोनयन दर्ता गराएका थिए।
निर्वाचित भएलगत्तै सभापति ढकालले समितिमा राजनीतिक दलको घेराभन्दा बाहिर रहेर देश र जनताको हितमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विभिन्न कारणले संसदीय समितिहरू सुस्त रहने विगतको अवस्था अब अन्त्य हुने बताए ।
ढकालले भने, “अहिलेको स्थिर सरकारलाई सघाउँदै र मुलुकको स्थिरतालाई कायम राख्न राज्य व्यवस्था समितिको भूमिका महत्वपूर्ण हुन्छ। हामी त्यसै दिशामा केन्द्रित हुनेछौँ।“
नवनिर्वाचित सभापति ढकालले समितिमा प्राप्त भएका विभिन्न उजुरीहरूलाई प्राथमिकताका आधारमा अध्ययन गरी टुङ्गोमा पु¥याउने बताए । साथै, समितिमा विचाराधीन रहेका महत्वपूर्ण विधेयकहरूमाथिको छलफललाई तीव्रता दिँदै कानुन निर्माणको प्रक्रियालाई थप प्रभावकारी बनाइने उनले उल्लेख गरे ।
प्रशासनिक सुशासन, भ्रष्टाचार नियन्त्रण र गृह प्रशासन जस्ता महत्वपूर्ण क्षेत्रहरू यस समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले ढकालको नेतृत्वलाई निकै चासोका साथ हेरिएको छ।